कोरोनाविरुद्ध विभिन्न औषधि र खोपको परीक्षण गरिदै : कहिले सम्म बन्ला औषधी



कोरोनाभाइरसको सङ्क्रमणबाट हुने कोभिड-१९ नामक रोगको उपचारका लागि उपयोगी र प्रभावकारी औषधि पत्ता लगाउने प्रयासमा वैज्ञानिक र चिकित्सकहरूले विभिन्न परीक्षण गरिरहेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

सानोफी र रिजेनेरोन नामक औषधि निर्माण गर्ने कम्पनीहरूले अहिले केभ्जारा नामक औषधिको परीक्षण गरिरहेको बिबिसिले जनाएको छ । प्राय: रूमटोइड आर्थ्राईटिस अर्थात् बाथ रोगको उपचारमा प्रयोग हुने उक्त औषधि ४०० बिरामीमा परीक्षण गरिँदैछ। त्यस्तो परीक्षण न्यूयोर्कमा हुँदैछ।मोनोक्लोनल एन्टीबडी पनि भनिने उक्त औषधिले कोरोनाभाइरसप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउने अतिसक्रियतालाई घटाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको विज्ञहरूले बताएका छन्।

स्पेनका अनुसन्धानकर्ताहरूले चाहिँ अर्कै औषधिको परीक्षण गरिरहेका छन्।उनीहरूले एचआईभी अर्थात् ह्यूमन इम्यूनोडिफिशन्सी भाइरसबाट सङ्क्रमित भएका मानिसको उपचार गर्न प्रयोग गरिने औषधि कोभिड-१९ बाट पीडित २०० बिरामीमा परीक्षण गरिसकेका छन्।उनीहरूले उक्त भाइरस सङ्क्रामक रहिरहने अवधिलाई त्यो औषधिले कम गर्ने अपेक्षा गरेका छन्।ती बिरामीको संसर्गमा आएका झन्डै ३,००० मा हाईड्रोक्लोरोक्वाईन नामक औषधि दिइनेछ।त्यो औषधि औलो रोग लागेका बिरामीलाई दिने गरिएको छ। त्यसले पनि कोरोनाभाइरसको फैलिने क्रम रोक्ने अपेक्षा गरिएको छ।

खोप परीक्षण
अमेरिकामा कोरोनाभाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु भएको छ।वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ।उक्त खोपबाट कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड-१९ हुँदैन। उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको सङ्केतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो।बिबिसिबाट

 

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  ६ : ४५ बजे