भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तिब्र रुपमा बढ्न थालेको छ ।भारतका बिभिन्न राज्यहाँरुमा गरी सङ्क्रमितको सङ्ख्या तीन सय नाघेको छ । शनिबार भारतभरि ५५ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो ।
पछिल्लो केही दिनमा भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाइसकेका छन् भने २३ जना उपचारपछि घर फर्किएका छन् ।
यसै बिच कोरोनाभाइरसको महामारीले विश्वलाई नै आतंकित बनाइरहेकोले यसको संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप भारतमा आइतबार जनता कर्फ्यु लगाइएको छ।
यसअघि बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै मार्च २२ अर्थात् आइतबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कर्फ्यु लागु हुने घोषणा गरेका थिए । उनले जनता कर्फ्युको अवधिमा कुनै पनि सर्वसाधारणलाई घरबाहिर ननिस्किन आग्रहसमेत गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको छ ।
प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै आइतबार सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।
गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’
जनता कर्फ्युको समयमा भारतमा सम्पूर्ण रेलसेवा बन्द गरिएका छन् । शनिबार मध्यरातिदेखि आइतबार बिहान १० बजेसम्म करिब तीन हजार ७०० यात्रुले यात्राका लागि टिकट लिएका थिए । तर, रेलमा पनि थुप्रै संक्रमित यात्रुले यात्रा गर्नसक्ने जोखिम बढेको भन्दै यातायातसमेत अवरुद्ध गरिएको हो ।
आगामी साता पनि रेल सेवा बन्द गरिने डीएनए इन्डियाले जनाएको छ ।










