बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने उच्चस्तरीय समितिको निर्णय



कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितले अन्तर्राष्टिय हवाई उडान वैशाख १८ गतेसम्म रोक्ने निर्णय गरेको छ ।मंगलबारको बैठकले अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णयलाई थप १५ दिन यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ ।

बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्‍यापिड किट मार्फत परीक्षणलाई बढाउने निर्णय गरेको समेत उनले बताए । कैलाली, कञ्चनपुर र बाग्लुङ्मा आरडिटी पद्धतिबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय भएको उनले बताइ । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको सचिव विडारीले बताए ।

स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानून बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधिकै आधारमा छोटो र छिटो विधिबाट खरिद गर्ने विषयमा छलफल भएको सचिव विडारीले बताए । स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्नेृ कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत सरकार सरकार (जिटुजी) मार्फत प्रत्यक्ष खरिद गर्ने प्रकृया अघि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको उनले बताए ।

प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार  १२ : १६ बजे