उत्तर कोरियाली नेता किम जोङ उन विगत २० दिनयता पहिलो पटक सार्वजनिक रूपमा देखिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
केसीएनए समाचार संस्थाका अनुसार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेका छन्।
शुक्रवार उनी उपस्थित हुँदा उद्योगमा उपस्थित मानिसहरू खुशीले रुन थालेकोू केसीएनएले जनाएको छ।
एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए।
सरकारी सञ्चारमाध्यमले उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको थियो।
केसीएनएका अनुसार कार्यक्रममा किम सहभागी हुँदा उनीसँग बहिनी किम यो(जङसहित थुप्रै उत्तर कोरियाली वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
उत्तर कोरियाली नेताले उत्तरी प्योङयाङ क्षेत्रस्थित एउटा उद्योगको कार्यक्रममा रिबन काटेका थिए।
मुलुकलाई सम्पन्नता दिलाउने दिशामा सर्वोच्च नेताले गरिरहेको नेतृत्वका लागि भन्दै कार्यक्रममा सहभागी मानिसहरू खुशीले रुन थाले, केसीएनएले भनेको छ।
किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए
किमले उद्योगको उत्पादन प्रणालीसँग आफू सन्तुष्ट भएको बताए र देशको रासायनिक उद्योग तथा खाद्यान्न उत्पादनमा पुर्याएको योगदानका लागि कम्पनीको उनले प्रशंसा पनि गरेको केसीएनएले उल्लेख गरेको छ।
किम पुनः सार्वजनिक रूपमा देखिएको भनिएकोबारे जिज्ञासा राख्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका छन्।बिबिसी नेपालिबाट










