गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा पार्ने असरबारे अध्ययन गरेरा सरकारलाई सुझाब सहितको प्रतिवेदन दिएको छ।
प्रतिष्ठानका अध्यक्ष तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत सरकारलाई अध्ययन प्रतिवेदन बुझाएका हुन् ।
सरकारले २ खर्बको आर्थिक तथा राहत प्याकेज ल्याउनु पर्ने प्रतिष्ठानको निचोड रहेको छ ।
यसबाहेक जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनु पर्ने, कोभिड–१९ को व्यापक परीक्षण गर्नु पर्ने, एसईई परीक्षा खारेज गर्नु पर्ने, स्वास्थ्यकर्मी लगायत अग्रभागमा रहेर काम गर्नेको मनोबल बढाउन भत्ता तथा सुरक्षाको स्तर बढाउनु पर्ने जस्ता निचोड पनि उक्त अध्ययनको रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष जोशीको संयोजकत्वमा गठन भएको कोरोनाको असर अध्ययन समितिमा योजना आयोगका पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, गोविन्दराज जोशी, स्वर्णिम वाग्लेलगायत थिए।
प्रतिष्ठानका अध्यक्ष जोशीले पहिलो प्राथमिकता परीक्षण, विदेशमा अलपत्रमा परेका नेपालीलाई देशमा ल्याउने र दैनिक जीवनयापनमा समस्यामा परेकालाई खाद्यान्न उपलब्ध गराउनु रहेको बताए ।








