कांग्रेसलेनै गाउँसम्म बाटोघाटो, बिजुली, स्वास्थ्य चौकी र विद्यालयहरु पुर्याएको हो : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विदेशबाट फर्केका नेपालीहरुलाई गाउँमै बस्ने वातावरण बनाउन आह्वान गरेका छन्।

लन्डनस्थित नेपाली व्यवसायीहरुसंग अनलाइन मार्फत अन्तरक्रिया गर्दै नेता पौडेलले २०४६ सालमा बहुदलको पुनर्स्थापना पछि नेपाली कांग्रेसको सरकारले गाउँ, गाउँसम्म बाटोघाटो, बिजुली, स्वास्थ्य चौकी र विद्यालयहरु लगेको बताए। “अहिले धेरै जसो गाउँघरमा पूर्वाधार पुगेको छ, राज्यले लगानी बढाएको छ, तर गाउँहरु रित्तिंदै गएका छन्। अब त्यो लगानीलाई सदुपयोग गर्ने र गाउँ फर्केका युवालाई गाउँमै रोक्ने कार्यक्रम ल्याउन आवश्यक छ। ”

नेता पौडेलले नेपालमा असीम सम्भावनाहरु भएका र तरकारी खेती, पशुपालन, मत्स्यपालन लगायत थुप्रै व्यवसायहरु गर्न सकिने बताए। अहिले गाउँ गाउँमा बिजुली र इन्टरनेट पुगेको छ। त्यहाँ शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरेर, रोजगारीका अवसरहरु सिर्जना गरेर गाउँ फर्केको जनशक्तिलाई त्यहीं रोक्नु पर्ने बताए।

नेता पौडेलले कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकासद्वारा नेपाललाई समृद्ध बनाउन सकिने बताउंदै नेपालको संस्कृति र प्रकृतिले संसारलाई आकर्षित गरेको बताए। उनले भ्रस्टाचारले देशलाई अत्याएको जनाउंदै नेपालमा सुशासनको खांचो रहेको बताए।

“हामीले ७० वर्षको संघर्ष पछि मुलुकलाई संघीय, लोकतान्त्रिक, गणतन्त्र बनाएका छौं। अब नेपाललाई प्रयोगशाला नबनाउं। जनतालाई सुखी बनाउने, नेपाललाई सुन्दर बनाउने हाम्रो कार्यभार हुनुपर्छ,” पौडेलले भने।

नेता पौडेलले कालापानी-लिम्पियाधुरा-लिपुलेक नेपालको भूभाग हो भन्ने विषयमा नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताउंदै अब सरकारले वार्ताद्वारा यो समस्या समाधान गर्नु पर्ने बताए।

अन्तरक्रियामा भाग लिंदै गैर आवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले खाडी मुलुकहरुमा कार्यरत हजारौं नेपालीहरुले रोजगारी गुमाएका, १०० भन्दा बढी शवहरु अलपत्र परेको, सुत्केरी, बिरामीहरु नेपाल फर्कन पर्खिरहेका, तर सरकारले अझै सम्म उनीहरुलाई फिर्ता ल्याउने काम शुरु गर्न नसकेको बताए । उनले “एक एनआरएन एक रोजगार” को अवधारणा ल्याएर स्वदेश फर्केका नेपालीहरुलाई रोजगारी दिन सकिने बताए।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डा. कपिल रिजालले ग्रामीण विकासले मात्रै नेपाल जस्तो देश अगाडी बढ्न सक्ने बताए। इजरायलले वर्षेनी १ अर्ब १९ करोड डलर बराबरको कृषिजन्य पदार्थ निर्यात गर्ने गरेको जनाउंदै उनले कृषिमा आधारित उद्योग व्यवसायको विकास गरेर भारत र चिनमा नेपाली उत्पादन बिक्री गर्नु पर्ने बताए। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष बिराज भट्टले नेपाल फर्किएका नेपालीहरु देशका लागि एक अवसर पनि हुन् भन्दै उनीहरुले गाउँघरलाई रुपान्तरण गर्न सक्ने बताए। उनले नेपालमा ऋण लिएर उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउनु पर्ने भन्दै उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरु माथि कर लगाउनु पर्ने सुझाव दिए।

अन्तर्क्रियामा गैर आवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार विश्व आदर्श पण्डित, समाजसेवी चिरन्जीवी ढकाल, सेवानिवृत्त क्याप्टेन हितमान गुरुङ, व्यवसायी पशुपति भण्डारी, कमल भण्डारी लगायतले आफ्ना धारणा राखेका थिए।

ग्लोबल नेप्लिज डटकमबाट

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  ६ : ५२ बजे