नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संविधान संशोधन विधेयक आज संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ । सो बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन् ।
भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ ।








