सोलुखुम्बु जिल्लामा पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, झुठ्ठा मुद्दामा फसाउने र त्यस विरुद्धमा प्रहरी प्रशासनबाट उजुरी समेत दर्ता हुन नसकेका घटनामा प्रहरी प्रशासनको समेत मिलेमतो देखिएको भन्दै नेपाली कांग्रेसले खेद ब्यक्त गरेको छ ।
“जिल्लाका सोलुदुधकुण्ड न .पा., लिखुपिके, थुलुक, खुम्बु पासाङ्ग ल्हामु, नेचा सल्यान गा .पा . अन्तर्गतका जलविद्युत आयोजना र विकास निर्माणका कार्यहरुमा भएको भ्रष्टाचार र अनियमितता तथा नागरिकहरु कोभिड—१९ का कारण रोग र भोकसँग जुधिरहेको संवेदनशील अवस्थामा समेत राहत वितरणमा व्यापक अनियमितता, पक्षपातपूर्ण व्यवहार भएको घटनालाई अत्यन्त सालिन, सभ्य र सुसंस्कृत ढंगबाट विरोध गर्दा नेकपाका कार्यकर्ताहरुले प्रहरी प्रशासनको आडमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु, पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुलाई कुटपिट गर्ने, दुव्र्यवहार गर्ने, झुठ्ठा मुद्दामा फसाउने र त्यस विरुद्धमा प्रहरी प्रशासनबाट उजुरी समेत दर्ता गर्न नमान्ने जस्ता गैर जिम्मेवार क्रियाकलाप निन्दनीय र खेदजनक छन्” कांग्रेसलेले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
श्रृखंलावद्ध रुपमा अधिनायकवादतर्फ उन्मुख कम्युनिष्ट सरकारको निर्देशनमा जिल्लामा कार्यरत कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिहरु समेत नेकपाको पूर्णकालीन सदस्य जस्तो गरी प्रयोग भएको नेपाली कांग्रेसले बिज्ञप्तिमा जनाएको छ ।
यस्ता अनियमित, अवांछित, अमर्यादित घटनाहरुलाई तत्काल रोकी आम नागरिकहरुले संविधानको मर्म र भावना अनुरुप स्वतन्त्र र निष्पक्ष रुपमा कानूनी अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्न तथा घटनाको छानविन गरी कुटपिटमा संलग्न दोषीहरुलाई कानूनी कारवाही गर्न पनि सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ ।









