सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर एक सय ५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी मुख्यालयमा हस्ताक्षर बुझाएका छन् ।
आज (बुधबार) अपरान्ह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई आफूहरुले हस्ताक्षर बुझाएको केन्द्रीय सदस्य जग्गनाथ खतिवडाले जानकारी दिए ।
पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले आफूहरुले केन्द्रीय कमिटी बैठकको माग गरेको उनको भनाई छ ।
केन्द्रीय सदस्यहरुले अध्यक्ष ओली-प्रचण्डलाई भेटेरै पत्र बुझाउन खोजेपनि समय नपाएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र दर्ता गरेर फर्किएका थिए। ‘पार्टीभित्रको विवाद स्थायी कमिटीले मिलाउन सकेन। सहमति हुन नसक्दा पार्टी नै विभाजन हुने स्थितिमा पुग्यो’ केन्द्रीय सदस्य खतिवडाले भने, ‘अब पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न पाउँनुपर्यो भनी पत्र बुझाएका हौं।’
बैठक माग गर्नेमा प्रायः प्रचण्ड र नेपाल पक्षीय केन्द्रीय सदस्यहरू छन्। अध्यक्ष ओली-प्रचण्डलाई एक सय ५० जनाभन्दा धेरै केन्द्रीय सदस्यले हस्ताक्षर बुझाउने तयारी गरेका हुन्। पार्टीमा विवाद उत्कर्षमा पुगेपछि केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका थिए। फेरि स्थायी कमिटी बैठक सुरु भएपनि अझै पार्टीभित्रको विवाद मथ्थर हुन सकेको छैन।
नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् १११ जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय समिति बैठक माग गरे महिना दिनभित्र बैठक बोलाउनु पर्छ।








