लकडाउन थप्नेबारे प्रधानमन्त्रीले विज्ञसँग थाले छलफल, काँग्रेस सभापति देउवा पनि सहभागी



प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथामका लागि फेरि कडा कदम चाल्ने संकेत गरेका छन् । उनले आज मुख्य राजनीतिक दलका नेताहरुलाई बालुवाटारमा डाकेर स्वास्थ्यलगायत विभिन्न क्षेत्रका विज्ञसँग परामर्श गरिरहेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटार विज्ञसँगको परामर्श लिने छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् । बैठकमा नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित रहे ।

नेकपा अध्यक्ष प्रचण्डलाई पनि छलफलमा बोलाएको तर उनी आइनपुगेको बालुवाटार स्रोतले बतायो । प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका छन् ।

सर्वदलीय छलफलमा प्रधानमन्त्री ओलीको सामुन्ने अग्रपंक्तिको भागमा देउवा, ठाकुरका अलावा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडालगायत छन् । पछिल्लो भागमा मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्रीका सल्लाहकारहरुका अलावा विज्ञहरु सहभागी छन् ।

प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गरी काठमाडौं उपत्यकालगायत मुख्य शहरहरुमा लकडाउनबारे निर्णयतर्फ बढ्ने बुझिएको छ । विशेषगरी उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि फेरि लकडाउन गर्नुपर्ने सुझाव स्वास्थ्य मन्त्रालयका अधिकारी देखि विज्ञहरुबाट आइरहेको छ ।

गत साउन ६ गते सरकारले लकडाउन अन्त्यको घोषणा गरेको थियो। लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दै गइरहेका ठाउँमा स्थानीय तहले कहीँ निषेधाज्ञा गरेको छ भने कहीँ लकडाउन गरेको छ।

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार  ६ : ५१ बजे