अत्यावश्यक सेवामा पनि अवरोध



काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट केही दिनअघि मात्रै जनरल वार्डमा सारिएका बिरामीका एक कुरुवालाई प्रहरीले जोरपाटीबाट अस्पतालसम्म आउन दिएन । खाना बोकेर अस्पताल जान खोजेका उनलाई सडकमा खटिएको प्रहरीले रोकेपछि कोठामै फर्किए ।

कलंकीमा बिहीबार बिहान प्रहरीले पत्रपत्रिका वितरणमा केही समय अवरोध गर्‍यो । प्रशासनसँग तत्काल समन्वय गरेपछि मात्रै प्रहरीले पत्रपत्रिका वितरणमा गरिएको अवरोध खोल्यो ।
निषेधाज्ञाको पहिलो दिन बिहीबार नै कार्यालय समयमा पैदल र सवारीमा निस्किएका बैंक–वित्तीय संस्थाका कर्मचारीलाई सडकमा रोकेपछि उपत्यकामा बैंकिङ कारोबार बन्द हुन पुग्यो । आवागमन सहज नभएसम्म बैंकिङ कारोबार बन्द गर्ने निर्णय भइसकेको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा यी तीनवटै क्षेत्रसम्बन्धी काममा अवरोध नगर्ने उल्लेख छ । अत्यावश्यक सेवाभित्र दैनिक उपभोग्य वस्तु, विद्युत्, सूचना तथा सञ्चार, भन्सारलगायत क्षेत्रलाई समेटिएको छ । तर बिहीबार त्यसअनुसार व्यवस्थापन हुन सकेन । ‘हामीलाई कसैले निषेधाज्ञा अटेर गरे आउजाउ गर्न नदिनू, जबर्जस्ती गरे सवारी नियन्त्रणमा लिएर मानिसलाई सडकमा होल्डिङ सेन्टरमा कैद गर्नू भन्ने आदेश छ,’ महाराजगन्ज–बालुवाटार क्षेत्रमा खटिएका एक प्रहरीले भने । कर्मचारीलाई सडकमा निस्कन नदिएपछि राजधानीका बैंकरवित्तीय संस्थाले बिहीबार सबै कारोबार ठप्प पारे । बैंकर संघले विज्ञप्ति नै जारी गरेर कर्मचारीलाई आवतजावत गर्न सहज नभएकाले सेवा बन्द गर्नुपरेको जनाएको थियो ।

प्रशासन र प्रहरीबीच समन्वय अभावका साथै फिल्डमा खटिने सुरक्षाकर्मीलाई त्यहीअनुसार जानकारी नगराइँदा अत्यावश्यक काममा निस्किएका मानिसले निषेधाज्ञाको पहिलो दिन केही असहजता बेहोरेका छन् । निषेधाज्ञाका बेला कुन–कुन क्षेत्र र सेवालाई हिँडडुल गर्न अनुमति दिने भन्ने विषय उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले मंगलबार गरेको निर्णयमा उल्लेख छ । त्यसैअनुसार बुधबार दिउँसो तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा पालना गराउन र अत्यावश्यक काममा सहजीकरण गर्न प्रहरीलाई परिपत्र गरेका थिए । बिहीबार बिहान सबेरैबाट सडक तथा भित्री गल्लीमा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको थियो । तर प्रशासन र प्रहरीबीच समन्वयमा भने कमजोरी देखियो ।

तीनवटै जिल्ला प्रशासनले संयुक्त सुरक्षा बैठकबाट गरेको निर्णयको बुँदा नम्बर ११ मा भनिएको छ, ‘बैंकिङ सेवालगायत विभिन्न निकायहरूको भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नेरगराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्नेछ । अत्यावश्यक कार्यका लागि घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्नेछ ।’

निषेधाज्ञा जारीसम्बन्धी बुँदा नम्बर ६ मा पनि अत्यावश्यक सेवाका सवारीलाई अवरोध नगर्ने स्पष्ट उल्लेख छ । ‘विभिन्न अत्यावश्यक सेवाका सवारी सञ्चालन गर्नेसम्बन्धी पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका वस्तु तथा सेवाका लागि प्रयोग गर्ने सवारीसाधनजस्ता अति आवश्यक सेवाबाहेकका सवारी सञ्चालन गर्न पाइने छैन ।’ सोही बुँदामा अस्पताल आउजाउ गर्ने बिरामीको हकमा पनि अवरोध नगर्ने उल्लेख छ । काठमाडौं प्रशासनका एक अधिकारी पनि बिरामी कुरुवा र खाना बोकेर हिँडेकाको हकमा अवरोध गर्न आवश्यक नभएको बताउँछन् ।

तर फिल्डमा खटिएका प्रहरी मानवीय संवेदनासँग जोडिएका विषयमा पनि नरम हुन सकेनन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएकाले अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर हिँडडुल गर्न नदिइएको बताए । निषेधाज्ञाको पहिलो दिन भएकाले फिल्डमा खटिएका सुरक्षाकर्मीमा सूचना र निर्देशन बुझाइमा कमी भएको हुन सक्ने उनको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले निषेधाज्ञालाई कडाइका साथ लागू गरिएको बताए । ‘निषेधाज्ञाका क्रममा सडकमा निस्किएका सवारी चालकबारे सोधीखोजी गर्दा केही ढिलो भयो होला, त्यसलाई नै लिएर हामीले अवरोध गर्‍यौं भन्न मिल्दैन,’ ढकालले कान्तिपुरसँग भने, ‘सुरक्षा र सवारी जाँचका क्रममा अटेर गर्ने, आदेश अवज्ञा गर्नेलगायतलाई नियन्त्रणमा पनि लिइएको छ ।’ प्रहरीले निषेधाज्ञाको पहिलो दिन भएर बिहीबार नियन्त्रणमा लिइएका सबै सवारीसाधन बेलुका सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ । सवारी बुझ्न बाँकीको हकमा अर्को दिन हस्तान्तरण गरिने उनले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले प्रशासनको निर्देशनअनुसार नै अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नेलाई फर्काइएको बताए । ‘सवारी सञ्चालनका हकमा ट्राफिक प्रहरीले व्यवस्थापन गरेको छ, बाँकी व्यवस्थापन जनपदबाट गरिएको छ, सडकमा अनावश्यक हिँडडुल गर्ने, आदेशविपरीत सटर खोल्नेलगायतलाई नियन्त्रणमा लिइएको छ, कतिलाई सम्झाएर पनि पठाएका छौं,’ एसपी राठौरले भने, ‘नियन्त्रणमा लिइएकालाई सडकमा निषेधाज्ञा, कोरोना तथा आदेश पालना नगर्दा भोग्नुपर्ने कारबाहीबारे जानकारी गराएर छाडिएको छ ।’

बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ९ सय २ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महाशाखा प्रमुख एसएसपी ढकालका अनुसार २ हजार २ सय ९४ दुईपांग्रे र ६ सय ८ चारपांग्रे सवारी नियन्त्रणमा लिइएको छ ।

‘अत्यावश्यकबाहेकका सवारी नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘अटेर गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ अनुसार ५ सय जरिवाना वा १ महिना कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले नियम उल्लंघन गर्ने चालकबारे पनि बुझ्ने काम भइरहेको छ ।’ त्यस्तै कामबिनै बाहिर निस्किने दुई हजारभन्दा बढीलाई नियन्त्रणमा लिइएको थियो । सडकमा होल्डिङ जोन बनाएर उनीहरूलाई संक्रमणको असर र आदेश उल्लंघन गर्दा हुने सजायबारे जानकारी गराइएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार  १ : ४९ बजे