अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै



अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजीनामा दिने भएका छन् । राष्ट्रियसभाको खाली एक सिटमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने पार्टी निर्णयसँगै खतिवडाले राजीनामा दिन लागेका हुन् ।

शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा खतिवडाले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।

युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

खतिवडाले बुधबारै राजीनामा दिने तयारी गरेपनि उनलाई प्रधानमन्त्री ओलीले रोकेका थिए । बुधबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका खतिवडालाई प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद बैठकमै राजीनामा दिनु भनेर पठाएका थिए ।

राजीनामा दिएलगत्तै अर्थमन्त्री खतिवडा पहिला अर्थमन्त्रालयमा पुगेर बिदाइ हुनेछन् । त्यसपछि सञ्चारमन्त्रालयमा आएर प्रेस मिट गर्दै अहिलेसम्म आफुले गरेका कामकारवाहीका वारेमा जानकारी दिने तयारी गरेको खतिवडा निकटस्थहरुले बताएका छन् ।

यसैबीच खतिवडाको बहिर्गमनसँगै अवको अर्थमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । अर्थमन्त्रीका लागि नेकपाकै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे चर्चामा छन् । स्रोतका अनुसार अर्थमन्त्री बन्ने दौडमा उपाध्यक्ष वामदेव गौतम, महासविच विष्णु पौडेल, स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र सुरेन्द्र पाण्डे छन् ।

प्रकाशित मिति : भदौ १९, २०७७ शुक्रबार  ४ : ४२ बजे