प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पूनर्गठनको अन्तिम तयारीमा जुटेका छन् । मन्त्रिमण्डल पूनर्गठनको तयारीबारे यसअघि प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । अध्यक्षद्धय ओली र दाहालबीचको छलफलमा कसलाई मन्त्री बनाउने रु र कसलाई हटाउने भन्नेबारे मोटामोटी सहमति भएको छ ।
मन्त्रिमण्डल पूनर्गठनबारे महत्वपूर्ण निर्णय लिनेगरि नेकपाले भोलिलाई सचिवालय बैठक डाकेको छ । प्रधानमन्त्री ओलीले कार्यसम्पादन राम्रा भएकाहरुलाई निरन्तरता दिने र खाली रहेका मन्त्रालयमा नयाँ अनुहार ल्याउने तयारी गरेका छन् । तर, दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मन्त्रिमण्डल पूनर्गठनको लागि खास मापदण्ड तय गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले दुई वर्ष पूरा गरेकाहरुलाई विदाई गर्नुपर्ने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएर पूनर्गठनको सन्देश प्रवाह गर्नसक्नुपर्ने बताएका छन् । तर, प्रधानमन्त्री ओलीले भने त्यस्तो गर्न नहुने अडान लिएका छन् ।
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन
प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पूनर्गठन आफ्नो क्षेत्राधिकार भएको उल्लेख गर्दै आफूलाई हस्तक्षेप नगर्न नेताहरुलाई आग्रह गरेको बुझिएको छ । पार्टीभित्र आफू संकटमा परेको बेला साथ र सहयोग गर्नेहरुलाई भने मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ । पार्टीभित्र ओलीलाई प्रधानमन्त्रीबाट हटाउनको लागि दाहाल–नेपाल समूह लागिपरेका थिए । त्यतिवेला अल्पमत र बहुमतको खेल हुँदा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खेमाका नेताहरुलाई ओलीले यसपटक मन्त्री बनाउने वचनबद्धता दिएका छन् । रिपोर्टर्स नेपालबाट








