कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी ल्याइएको हो ।
मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकद्वारा पौडेलको उपचार गरिएको थियो ।नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई नै काठमाडौं ल्याएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ ।एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।








