चिकित्सकीय टोली र स्वास्थ्य सामाग्रीसहित घरदैलोमा कांग्रेस नेता नविन्द्रराज जोशी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आफ्नो निर्वाचन क्षेत्रमा ‘घर दैलो कोभिड १९ सूचना तथा सेवा अभियान’ थालेका गरेका छन् ।

गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसर पारेर काठमाडौं क्षेत्र नम्बर ८ मा उनले शोभा भगवतीमा रहेको सिंहको शालिकमा माल्यार्पण गर्दै अभियान शुरु गरेका हुन् ।
कोरोना भाइरसको महामारीभर यो अभियान जारी राख्ने प्रतिवद्धता जनाउँदै उनले जनताको घरघरमा पुगेर मास्क, अत्यावश्यक औषधी, अक्सीमिटर र थर्मोमिटर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरेका हुन् । त्यसका साथै विभिन्न जनचेतनामुलक प्ले कार्डहरु समेत वितरण गरेका छन् ।

अभियान अन्तर्गत संक्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने र बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’मा २४ सै घन्टा सेवा सञ्चालन गर्ने जोशीको भनाइ छ ।

जोशीले कोरोनाका कारण जटिल समस्या देखापरेमा तुरुन्त आफू लगायतका साथीहरुलाई सम्पर्क गर्नसमेत घर दैलो अभियानमा जनतामाझ बचन दिएका छन् ।

त्यस्तै जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेत लगायतका विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालहरुको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार  ८ : ०३ बजे