२९ मंसिर,
नेपाली काङ्ग्रेसले पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक राजधानीमा हुँदैछ ।
बैठकका तयारीका लागि शुक्रबार केन्द्रीय कार्यालयमा महासमिति सदस्यको नामावली दर्ता भइ सकेको र महासमिति बैठक सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पुस १ देखि ३ सम्म बन्दसत्रमा विधान, राजनीतिक प्रस्ताव, सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव गरेर बैठक सकाउने तालिका छ । उद्घाटन कार्यक्रम दुई घन्टा १५ मिनेटमा सकाउने र त्यसको केहीबेरपछि बन्दसत्र सुरु हुने जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।
महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५–५ जनाका दरले एक हजार दुई सय सहभागी हुनेछन् । केन्द्रीय पदाधिकारीसहित केन्द्रीय सदस्यहरू, १२औँ महाधिवेशनका केन्द्रीय सदस्यहरू रहनेछन् ।
यस्तै, भ्रातृ शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट ९७–९७ जनाको सहभागिता रहनेछ । महासमिति सदस्य हुन नसकेका २९ जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुँदै छन् । पार्टी एकता गरेको तत्कालीन लोकतान्त्रिक फोरमबाट पनि प्रतिनिधि सहभागी हुनेछन् ।
उद्घाटनपछि शनिबार नै सुरु हुने बन्दसत्रमा विधानमा पेस भएका प्रस्ताव र प्रतिवेदनमाथि छलफल हुनेछ । सात प्रदेशका सात समूह बनाएर छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।








