प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि देशभर सुरक्षा ‘अलर्ट’ गरिएको छ । देशका विभिन्न स्थानमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको
हो ।
फिल्डमा प्रमुख रूपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रूपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रूपमा सुरक्षा सतर्कता बढाउन सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
एक उच्च सुरक्षा अधिकारीका अनुसार अनौपचारिक रुपमा मुलुकका सबै सुरक्षा निकायले आ-आफ्नै हिसाबले सतर्कता बढाएका हुन् । प्रधानमन्त्रीको पछिल्लो कदमले मुलुकका थप संकट निम्तनसक्ने सुरक्षा निकायको विश्लेषण छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए । ओली संसद् विघटनको प्रस्ताव बोकेर राष्ट्रपति निवास पुगेका छन् ।








