गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर



शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गर्नुभयो । काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ वटा गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लाग्नुभएको हो । मन्त्री गुरुङले नेपालको एक जना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गर्नुभएकोमा सो कार्यको सराहना गर्नुभयो ।

कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति मन्त्री गुरुङले खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो । उक्त कार्यक्रमका लागि बेलायतबाट पाँचजना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार  १२ : ३६ बजे