कञ्चनपुरमा ओली-प्रचण्ड पक्षबिच कुटाकुट: नेकपा कार्यालय प्रहरीको सुरक्षामा



कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई पक्षबीच हात हालाहाल भएपछी नेकपाको महेन्द्र नगर जिल्ला पार्टी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपाका अध्यक्ष केपी ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच झडप भएपछि पार्टी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको हो।

नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएपछि प्रचण्ड–नेपाल पक्षले ताला खोल्न खोजेको थियो।उक्त क्रममा सामान्य झाडप समेत भएको थियो ।

जिल्ला सचिव तारा लामाले शनिबार सूचना जारी गरी आज मध्यान्ह १२ः३० बजे बिस्तारित बैठक आह्वान गरेपछि विवाद झडपमा परिणत भएको हो। सचिव लामा दाहाल–नेपाल पक्षका हुन्।

ओली पक्षले उक्त भेला बिथोल्नको लागि पार्टी कार्यालयमा ताला लगाइदिएका थिए। ओली पक्ष कमजोर रहेको उक्त जिल्लामा दाहाल–नेपाल पक्षले ताला फोड्न लाग्दा झडप भएपछि प्रहरी परिचालन भएको थियो। दाहाल नेपाल पक्षले आज पार्टी कार्यालयमै भेला गरेरै छोड्ने बताउँदै आएका छन्।
प्रचण्ड-नेपाल पक्षका एक नेताले भने प्रहरीको सहयोगमा केपी ओली पक्षकाले ताला लगाएको आरोप लगाएका छन्। उनले तत्काल ताला खोल्नु पर्ने माग राखे।

अहिले पार्टी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

प्रकाशित मिति : पुस १२, २०७७ आइतबार  १० : ३० बजे