महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफुले प्रतिनिधिसभा विघटनको बचाउ गर्ने बताएका छन ।सोमबार संसद् विघटनविरुद्धको रिटमा सरकारी पक्षको तर्फबाट बहस गर्दै उनले भने, ‘सरकारको प्रतिरक्षा गर्ने दायित्व महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो । यो भूमिका मैले निभाउनुपर्छ, संवैधानिक दायित्वबाट पन्छिन मिल्दैन ।’
खरेल संविधान मस्यौदा समितिमा विज्ञ सदस्यका रुपमा काम गरेका व्यक्ति हुन् । उनले विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने संविधानको व्यवस्थाका बारेमा विभिन्न ठाउँमा बोलेका थिए । त्यति बेलाको भिडियो प्रमाणका रुपमा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेस गरिएको छ । खरेलले सोमबार बहसका क्रममा आफूले दिएको अभिव्यक्ति ठिक भएको, अहिले पनि आफू त्यसकै पक्षमा रहेको तर अहिले आफू सरकारको बचाउ गर्ने ठाउँमा भएको बताए । रिट निवेदकको तर्फबाट बहस गर्ने कतिपयले खरेलले कसरी बहस गर्नुहोला भनेर समेत प्रश्न उठाएका थिए ।








