नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण निरंकुश कदम भ न्दै नियुक्तिको बिरोधमा आमहड्तालको आव्हान गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान गरेको जानकारी गराएका हुन ।
प्रवक्ता श्रेष्ठले भने,’ केपी ओली सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक अलोकतान्त्रिक निरङ्कुश र प्रतिगामी कदम चालेपछि देश आन्दोलनमय रहेकै अवस्थामा बुधवार सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवम् गैर कानुनी ढङ्गले नियुक्त गरिएका संवैधानिक आयोगका पदाधिकारी एवम् सदस्यहरूलाई बलमिचाइँ गरी शपथ ग्रहण गराउने कार्य भएको छ । यसको विरोधमा हामी बाध्य भएर बिहीबार आम हडताल गर्दैछौँ । ‘
‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्यादतीपूर्ण निरंकुश कदमको विरोधमा भोलि देशव्यापी आमहड्तालको आव्हान गर्दछ ।’जारी विज्ञप्तिमा भनिएको छ ।








