नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले जनताद्वारा ५ वर्षका लागि निर्वाचित प्रतिनिधिसभा ३ वर्षमै भंग गरेर प्रधानमन्त्री केपी ओलीले सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस सप्तरीद्वारा सोमबार सदरमुकाम राजविराजमा प्रतिनिधिसभा विघटन बिरुद्ध आयोजित बिरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । तीनै वर्षमा प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्रीले स्वच्छाकारी काम गरेका छन्, नेता निधिले भने, यस कदमले उनको सर्वसत्तावादी चरित्र नांगिएको छ । मधेश लगायत सिंगै मुलुकको हीतका लागि नेपाली काँग्रेसको विकल्प नरहेको दाबीका साथ पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका निधीले भने, मधेश बिना देश हुँदैन भन्ने काँग्रेस बिना मधेशको कल्याण पनि सम्भव छैन् । कम्युनिष्टलाई बहुमतका साथ जिताउँदा मुलुक र जनताले भोग्नु परेको संकटबाट पाठ सिक्न जरुरी रहेको उनले भने, काडाको बिरुवा रोप्दा आँप नफले जस्तै कम्युनिष्टलाई जिताएर जनताको पनि कल्याण नहुनुे प्रमाणित भइसकेको छ ।
कम्युनिष्टहरुलाई संघियता अपाच्य हुन्छ भन्ने आफूहरुले भन्दै आएको भएपनि कम्युनिष्टकै नेतृत्वका सरकार बनेका कारण अहिले देशको यस्तो अवस्था आएको उनको कथन थियो । गाडी राम्रो भएपनि चालक कुशल नभए दुर्घटनाको जोखिम बढ्ने बताउँदै उनले थपे, मुलुक संचालनमा प्रधानमन्त्री त्यस्तै अनाडी चालक भएका कारण सिंगै मुलुकमा राजनीतिक दुर्घटनाको जोखिम बढेको हो । कार्यक्रममा नेकपा, जसपा, राप्रपा लगायत पार्टी परित्याग गरि पाँच सय भन्दा बढी स्थानिय नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।








