सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता गर्नुलाई गैरकानुनी ठहर गरेको छ । आज न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि फैसला गर्दै कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला गरेको हो ।
यसअघि १३ फागुनमा न्यायाधीशहरु श्रेष्ठ र रेग्मीको इजलासले २० फागुनमा फैसला गर्ने भनेकोमा पूर्व प्रधानन्यायधीश सुरेन्द्रप्रसाद सिंहको निधनले स्थगित भएपछि आज उक्त मुद्दाको फैसला सुनाएको हो ।
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भई निर्वाचन आयोगमा दर्ता भएको थियो । आयोगमा दर्ता गर्दा नेपाल कम्युनिस्ट पार्टी नामको पार्टी पहिल्यै दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टी कोष्ठकमा नेकपा राखी दर्ता भएको थियो ।








