नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गर्दै ओली सरकारले जनताको विश्वास माथि ‘लात हानेको’ बताएका छन्।शनिबार श्री भगबती क्लबले काठमाडौंको टोखामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निमार्ण गरियको पोखरीको उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नुपर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नु भयो । अन्तर्राष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसक्नुभयो। अब ओलीको विकल्प तल्काल दिनुपर्छ।’
नेता सिंहले राजनीति ठिक भएमा देशको सामाजिक, अर्थिकलगायत सम्पूर्ण क्षेत्रको विकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको बताए।उनले ओलीसँग अलिकति पनि नैतिकता नभएको भन्दै प्रधानमन्त्रीमा बसिरहन दिए आफूहरुमाथि पनि नैतिक प्रश्न उठ्ने बताए।
बिगतका घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भइसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको दावी गरे।नेता सिंहले सरकार परिवर्तन गर्न कांग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउदै आफूहरुलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिष्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निमार्णमा अग्रसर भएको प्रस्ट पारे।देश बचाउन, लोकतान्त्रिक मुल्यमान्यता बचाउनका लागि अहिले कांग्रेसले प्रभावकारी भूमिका खेल्ने अवस्था आएकाले आफूहरु त्यसमा लागिपरेको बताए।








