प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनबिरुद्द नेपाली कांग्रेस लगायतका विपक्षी दलहरु अदालत जाने भएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षको आज बसेको बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने निर्णय गरेको हो ।
बहुमत संसदसहित नयाँ सरकारको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।
बिपक्षिहरुको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने उद्घोष गरेको छ ।
नेपाली कांग्रेसले यसाघिनै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रीक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको संविधान उलङ्घनको पछिल्लो शृङ्खलालाई कानुनबिदहरुले समेत असंवैधानिक भनेका छन भने सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिको चर्को आलोचना शुरु भएको छ ।









