प्रधानमन्त्री बन्ने शेरबहादुरजीको इच्छा थिएन ,म र माधवजीले उभिदिनुस् भनेका हौं- प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले अदालतलाई समेत धम्क्याउन थालेको बताएका छन ।विपक्षी गठबन्धनले शनिबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

पत्रकारहरुसग कुरा गर्दै प्रचण्डले संविधानको धारा ७६को उपधारा ५ मा सांसदलाई ह्विप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको स्मरण गर्दै संसद विघटन हुन नदिनका लागि उक्त व्यवस्था राखिएको दाबी गरे।उनले भने ‘१४९ जना सांसदहरुको बहुमतसहित दाबी पेश भएकाले देउवा नै प्रधानमन्त्री हुनुपर्छ ।’‘शेरबहादुरजीले मलाई प्रधानमन्त्री चाहियो भन्नुभएको होइन। मैले र माधवजीले उभिदिनुस् भनेका हौ।’

उनले राष्ट्रिय स्वाधीनतामाथि पनि खेलबाड भएको उल्लेख गर्दै संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको उनले बताए ।आफूहरुको लडाइँ प्रधानमन्त्रीको निम्ति नभएको पनि उनले दाबी गरे ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिको भूमिका केपी ओलीको कार्यकर्ता जस्तो रहेको आरोप लगाए ।देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेपनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।

‘राष्ट्रपति नभएर ओलीको कार्यकर्ता भएर काम गर्नुभयो । मलाई पहिला क्याबिनेट पुनर्गठन गर्न दिनुभएन, अहिले धमाधम शपथ खुवाउनुभयो । राष्ट्रपति हदभन्दा बढी ओलीको कार्यकर्ता हुनुभयो । ओलीले भन्दा राष्ट्रपतिले गलत गरेको हो ।’ उनले भने ।

तेस्तै नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफूहरुको लडाइँ प्रवृत्तिविरुद्ध भएको बताए ।उनले ओलीमा सत्ता, शक्तिको मात चढेको जिकिर गर्दै ओलीले पटक–पटक गलत कदम चालेको दाबी गरे ।ओलीका क्रियाकलापले लोकतन्त्र नै धरापमा परेको भन्दै उनले आफूले ओलीबाट पटक–पटक धोका पाएको उल्लेख गरे ।

नेता नेपालले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै राष्ट्रपति संविधानको संरक्षक बनेको भए अहिलेको अवस्था नआउने दाबी गरे ।

प्रकाशित मिति : असार १२, २०७८ शनिबार  ६ : ०३ बजे