वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिनुपर्ने बताएका छन् ।आइतबार प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमाथिको बहसमा भाग लिँदै उनले देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् ।
रिटमाथिको बहसमा भाग लिँदै उनले भने ‘आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक पटक सम्वैधानिक दायरा नाघिसक्नुभएको छ’ ।
वरिष्ठ अधिवक्ता खरेलले अघि भने ‘राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य छ ।’प्रधानमन्त्री नियुक्तिका लागि दलले नभई सांसदले व्यक्तिगत रुपमा मत दिनुपर्ने वरिष्ठ अधिवक्ता खरेलले बताए । ‘मत भनेको सांसदले दिने हो , ७६९२० होस् कि अरूमा , नत्र विश्वासको मतमा किन मत विभाजन गरिन्छ दलको नेताले विश्वास दिए भइहाल्थ्यो नि’ उनले भने ।
सांसदहरुले ह्वीप उल्लंघन गरेर दिएका मतको पनि मान्यता हुने भन्दै उनले भने ‘ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले भनेको छैन ।यस्तै अधिवक्ता खरेलले राष्ट्रपति संस्थाले निरपेक्ष भएर काम गर्न नसकेको बताएका छन् ।
“कसैले संसद्को विशेष अधिवेशन आह्वानको निवेदन लैजाँदा घण्टौँ दर्ता नै नगरिदिने अनि केपी ओलीका निवेदन रातको ९ बजे, ११ बजे पनि स्वीकार गर्दै प्रतिनिधिसभा नै विघटन गरिदिने र?, पुत्र मोहमा फसेका धृतराष्ट्र र उहाँमा के फरक भयो र?” उनले प्रश्न गरे ।








