मुख्यमन्त्री शाहीले राजीनामा दिदै



कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् । सत्तारूढ गठबन्धनले दशैं लगत्तै कांग्रेसका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेको छ। मुख्यमन्त्री शाही निकट स्रोतका अनुसार, ५ कात्तिकसम्म मुख्यमन्त्री परिवर्तन गर्ने तयारी छ।

गत वैशाखमा कांग्रेस र माओवादीबीच ६ महीनापछि मुख्यमन्त्री शाहीले राजीनामा दिने सहमति अनुसार, माओवादीले प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गर्न लागेको हो।

कांग्रेस कर्णाली संसदीय दलका सचेतक हिमबहादुर शाही नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल भइरहेको बताउँछन्। उनी भन्छन्, “नयाँ घटनाक्रम विकसित भएन भने दशैंपछि सरकारको नेतृत्व फेरिन्छ।”

माओवादी केन्द्रका कर्णाली संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट भने वैशाखको सम्झौताबारे मुख्यमन्त्री शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सबैभन्दा बढी जानकार भएको बताउँछन्।

संघमा देखिएको राजनीतिक समीकरणको प्रभाव कर्णालीमा पनि देखिन सक्ने उनको भनाइ छ। संघमा जस्तै कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीचको सहमति बन्दा मुख्यमन्त्री परिवर्तन नहुन पनि सक्ने विष्ट बताउँछन्।

प्रकाशित मिति : आश्विन १३, २०७८ बुधबार  ३ : १४ बजे