गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तिमा पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्याउने घोषणा गरेका छन् ।
असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
आचार्यले सार्वजनिक गरेको प्रतिवद्धतामा प्रवासमा लाखौं नेपालीहरू रहेको भए पनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख छ । उनले आफू अध्यक्षमा निर्वाचित भएपछिको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र एनसीसीहरुको संख्या पनि एक सय पुर्याउने बताए ।
हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ । ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, २० वटा एनसीसी हाल निष्कृय रहेका छन् ।
‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् । ‘सीमित व्यक्तिले गर्ने निर्णय र अपारदर्शी व्यवहारबाट संस्थाको साख गिर्दै गइरहेको छ, मैले यसलाई पूर्णरुपमा सुधार गर्नेछु’ आचार्यले भने ।