नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको उद्घाटनसत्र सुरु भएको हो । उद्घाटनसत्रमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरू प्रज्ञा भवनमा पुगेका छन् ।माओवादी केन्द्रको महाधिवेशन पाँच दिनसम्म चल्नेछ । महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक राजनीतिक संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उक्त प्रतिवेदनमाथि गहन छलफल हुनेछ । यस्तै, पार्टीको २५ वर्षे समीक्षा र नयाँ नेतृतव चयन हुनेछ ।
महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् । यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।








