अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की



सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् ।आज बिहान अस्पताल अनुगमनपछिको कुराकानीमा उनले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिए ।

सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ थियो ।कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले आभार व्यक्त गरे ।

गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिए ।सोही अवसरमा मन्त्री कार्कीले उक्त अस्पतालको आइसियु तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि रु एक करोड ५० लाख सहयोग गर्नुभएको मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले बताए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, अस्पताल विकास समितिका अध्यक्ष गोपाल राजभण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : चैत्र १२, २०७८ शनिबार  १२ : ३३ बजे