गजलमा बहरकाे हाउगुजी देखाएर केहिले नयाँ पुस्ता अलमल्याउन खोज्दैछन :वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेल



काठ्माण्डौ-

निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे  यस पटककाे शृङ्खला वरिष्ठ गजलकार ज्ञानुवाकर पाैडेलको आतिथ्यतामा सम्पन्न भएको छ ।   कार्यक्रममा बाेल्दै पाैडेलले आफ्नाे गजल यात्राका राेचक अनुभूतिहरु सुनाए।  तिसकाे दशकबाट गजल लेख्न थालेकाे कुरा बताउँदै उनले सुरुमा गजल लेख्दा यस्ताे पनि गजल हुन्छ र ?  भनेर केहीले प्रश्न गरेकाे  कुरा स्मरण गरे । नेपालमा अहिले गजलकाे माहाेल निकै बढेकाे भए पनि दक्षिण एसियाका अन्य देशकाे दाँजाेमा पुग्न नसकेकाे धारणा राख्दै उनले नेपाली गजलकाे पुन:जागरण कालमा कवि-आख्यानकारहरुकाे भिडमा गजल लेख्नेहरु लामा गन्न पनि नपुग्ने अवस्था रहेकाे बताए ।

अहिले गजल लेख्नेहरुकाे लहर देखेर खुसी लाग्ने गरेको र केहीले बहरकाे हाउगुजी देखाएर नयाँ पुस्तालाई अलमल्याउन खाेजेकाे भए तापनि नयाँ पुस्ता नअल्मलिएर अगाडि बढ्ने विश्वास समेत ब्यक्त गरे । गजलमा काव्यात्मकता मुख्य तत्त्व भएकाे भन्दै शास्त्रीयताकाे मापन बाेक्राका आधारमा हैन गम्भीरताका आधारमा हुनु पर्ने धारणा राख्दै उनले काव्य सिर्जनामा प्रतिभा जत्तिकै अभ्यास पनि आवश्यक भएकाेमा जोड दिए ।

आफू पनि निरन्तरकाे अभ्यासका कारण यहाँसम्म आइपुगेकाे उनको अनुभब सुनाउदै पाैडेलले करिब एक दर्जन गजल र मुक्तकहरु सुनाएर सहभागिलाई मन्त्रमुग्ध पारेका थिय । कार्यक्रममा  सुदर्शन शर्मा, इन्द्र लम्साल, पूर्णिमा प्रतिबिम्व, काशीराम बजगाई, सुनिल शर्मा, साेझाे गाउँले लगायतले आ – आफ्ना रचना(कविता, गीत, गजल, मुक्तक)हरु सुनाएका थिए ।

बिहानकाे हावाहुरी र वर्षातका कारण कार्यक्रममा स्रष्टाहरुकाे न्यून उपस्थिति थियाे । कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भएकाे थियाे र उक्त कार्यक्रम रेडियाे अन्नपूर्ण ९४ मेगाहर्जबाट प्रसारण गर्नका लागि रेकर्ड पनि गरिएकाे थियाे ।

प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार  ६ : १४ बजे