बुटवल वैशाख, ३–
सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले विभिन्न चुनौतिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको सरकारले केही नयाँ काम गर्न खोज्दा आउने आलोचना सहने बताएका छन् । मंगलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारको आलोचना भएपनि कामको गति नरोकिने बताएका हुन् ।
उनले भने, ‘सरकारको आलोचना गर्न छुट छ, स्वागत पनि छ ।’
सरकारले गरेका कामका सन्दर्भममा विपक्षी दलले आलोचना गरेकोमा मन्त्री बास्कोटाले आलोचन गर्नु अधिकार भएको प्रष्ट पारे । उनले थपे, ‘आलोचना भैरहन्छ, हामी काम अगाडी बढाइरहन्छौ ।’
सरकार नयाँ भिजनका साथ अगाडि बढिरहेको भन्दै मन्त्री बास्कोटाले लगानी सम्मेलनमार्फत ७७ वटा योजानमा २४ खर्ब रुपैयाँ बारबरको लगानीको प्रस्ताव आउनु आफैँमा राम्रो पक्ष भएको जिकिर गरे । मन्त्री बास्कोटाले एक बर्षलाई सरकारले नव निर्माणको बर्षको रुपमा लिएको भन्दै यसलाई आत्मसाथ गरेर अगाडि बढ्ने स्पष्ट पारे ।
उनले पहिला सुरुङमार्ग, रेलमार्गका कुरा गर्दा हाँसो मजाकमा उडाउनेहरु अहिले आवश्यकता हो ? भन्ने बहसमा लागेको बताए । बालुवाटारको जग्गा किनबेचको बारेमा बोल्दै मन्त्री बास्कोटाले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने जोसुकैलाई पनि कारबाही हुने भन्दै विष्णु पौडेललाई ठगी गर्नेले नै क्षतिपुर्ति दिने प्रष्ट पारे ।