वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन , कांग्रेसद्वारा गहिरो दुःख व्यक्त



काठमाडौं वैशाख, ५–
नेपाली कांग्रेसले नेपाल समाचार पत्रका प्रधान सम्पादक एवम् कामना प्रकाशनका संस्थापक अध्यक्ष पुष्करलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लामो समयदेखि पत्रकारिताको क्षेत्रमा संलग्न ६० वर्षीय श्रेष्ठको निधनले ले सिङ्गो संचार जगतमा अपुरणीय क्षति पुगेको उल्लेख छ ।
विज्ञप्तिमा श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । सभापति देउवाले भनेका छन्, ‘नेपाल समाचार पत्रिकाका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनको समाचारले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट संचार क्षेत्रले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपुरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’
विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’ पत्रकार श्रेष्ठको उपचारको क्रममा बुधबार नर्भिक अस्पताल थापालीमा निधन भएको थियो । वरिष्ठ पत्रकार श्रेष्ठ २०१६ सालमा काठमाडौंमा नन्मिएका थिए । २०६१ सालमा प्रेस काउन्सिल नेपालको सदस्य भएका श्रेष्ठले २०५२ देखि २०५३ सालसम्म राष्ट्रिय समाचार समितिको सदस्यको रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार  ३ : ३२ बजे