काठमाडौं वैशाख, ६–
नेतृत्वविहिन नेविसंघले आफ्नो ४९ औं स्थापना दिवस मनाईरहेको कार्याक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले छिट्टै नेविसंघको तदर्थ समिति गठन हुने घोषणा गरेका छन् ।
शुक्रबार नेविसंघ काठमाडौँ जिल्ला समितिले राष्ट्रियसभामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सबैको भावना समेट्ने खालको तदर्थ समिति गठन गर्ने तयारी भैरहेको बताएका हुन् ।
उनले भने, ‘हामी चाँडै नेविसंघको तदर्थ समिति ल्याउछौँ । ३२ वर्षमाथि मुनिको भन्दा पनि सबैलाई अवसर दिने, विद्यार्थीको भावना समेट्ने र समयअनकुल काम गर्न सक्ने समिति ल्याउछौँ ।’
नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने–नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने सभापति देउवाको भनाइ थियो । सभापति देउवाले नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने विश्वास समेत दिलाए ।
सभापति देउवाले नेविसंघले नेपालको राजनीतिक परिवर्तनको ठूल्ठूला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरे ।
गत माघ २८ गते समयमा महाधिवेश गर्न नसकेकोमा निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले राजीनामा दिएपछि यतिवेला नेविसंघ नेतृत्वविहिन छ । कांग्रेसले महाधिवेशनको प्रयोजनका लागि तदर्थसमति गठन गर्न अहिलेसम्म सकेको छैन ।
प्रमुख प्रतिपक्ष दल नेतासमेत रहेका देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको आरोप लगाए ।
वर्तमान सरकारले अन्याय, अत्याचार गर्न थालेको भन्दै जनताको मुक्तिका लागि आन्दोलनको तयारीमा लाग्न नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
‘कहीँ पनि राम्रो काम हुन सकेको छैन । पत्रकारमाथि अत्याचार गरेको छ । शिक्षकमाथि अत्यचार गरेको छ । जताततै भ्रष्टाचार बढेको छ’, उनले भने, ‘यो सरकारको यस्तो रबैयाबिरुद्ध हामी सबैको ध्यान जानुपर्छ । नेविसंघका नेता कार्यकर्ताहरु पनि आन्दोलनको तयारीमा लाग्नुहोस् ।’








