बुटवल वैशाख, ९–
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बालुवाटारको जग्गा हडप्नेलाई कारबाहीको दायारामा ल्याउनुपर्ने बताएका छन् । सोमबार बुटवलमा पत्रकारसँग कुरा गर्दै नेता केसीले सरकारी जग्गा हडप्नेलाई खोजीखोजी कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले देशैभर सरकारी सम्पत्ति हड्प्ने खेल भइरहेको भन्दै त्यस्ता कार्यमा संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सरकारी सम्पत्ति हिनामिना गर्ने जो केही भएपनि सरकारले छाड्नुहुँदैन, नेकपाका वा काँग्रेस पार्टीकै जोसुकै भएपनि कानुनी दायरमा ल्याउनुपर्छ ।’
नेता केसीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै सोही कारण राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी गरे ।
नेता केसीले सरकारले हावादारीका नारा बनाएर जनतालाई भ्रममा पारेको आरोप लगाउँदै ओली सरकार आफैंले गरेका गल्तीकै कारण ढल्ने बताए ।
सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा नभएको दाबी गर्दै केसीले प्रधानमन्त्री ओलीले संसदीय प्रकृया र मूल्य मान्यतालाई पनि तोडेको आरोप लगाए ।
लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दा सरकार आफै नियन्त्रण हुने पनि उनले जिकिर गरे ।