संखुवासभा वैशाख, १५–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसका कार्यकर्ता आपसमा विवाद गर्ने भन्दा पनि मनमुटाव छाडेर एकढिक्का हुनुपर्ने बताएका छन् । आइतबार संखुवासभा क्षेत्रनम्बर २ ले संखुवासभामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै नेता सिंहले अब पार्टीमा आन्तरिक एकता सुदृढ गरेर कांग्रेस अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् । उनले पार्टी भित्र भेदभावपूर्ण व्यवहारले नेता–कार्यकर्तामा ऊर्जा भर्न नसकिएको प्रष्ट पारे ।
उनले कांग्रेसले जनता र मुलुकको हितमा महत्वपूर्ण काम गर्दागर्दै पनि जनताले विश्वास गर्न नसक्नु कांग्रेस नेतृत्वप्रतिको अविश्वासको कारण भएको बताए । यसलाई सुधार्दै अगाडि बढ्नुपर्ने भन्दै नेता सिंहले पार्टीलाई विधिसम्मत तवरले चलाउन पार्टी नेतृत्वलाई सुझाव समेत दिए ।
पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘जनता कांग्रेसको पक्षमा छन्, जनता कांग्रेस राम्रो होस् भन्ने चाहन्छन्, तर कांग्रेस विधिविधान सम्वत तवरले चल्न सकेन । अब पार्टीभित्र आन्तरिक सुदृढीकरण गरेर अगाडि बढ्नुको विकल्प छैन ।’
वर्तमान सरकार स्वेच्छाचारी तवरले चलेकाले सडकदेखि सदनसम्म कांग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले लोकतन्त्रको बचाउ र समृद्धिको यात्रा कांग्रेसले मात्र पूरा गर्न सक्ने बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले अब पनि कांग्रेसले आफूलाई सुधार गर्न नसके कांग्रेस अहिले भन्दा पनि झन् कमजोर हुने बताए । उनले सबै मिलेर पार्टी सुधारको अभियानमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं लगायतले धारणा राखेका थिए ।
नेता सिंह सहितको टोलीले आज संखुवासभा जिल्लामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रकाशमानको टोलीमा आधा दर्जन पूर्वमन्त्री र आधा दर्जन जिल्ला सभापतिसमेत छन् । वैशाख १३ गतेदेखि पूर्वी नेपालको बिभिन्न जिल्ला दौडाहामा रहेका प्रकाशमान १७ गते काठमाडौं फर्कने कार्यक्रम छ ।