भोजपुर वैशाख, १५–
गृहमन्त्री रामबहादुर थापा बादलले तत्कालिन एमाले र माओवादीको एकताले लोकतन्त्र विरोधीहरु अत्तालिएको बताएका छन् । आइतबार भोजपुरमा जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै मन्त्री थापाले मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन लोकतन्त्र विरोधीहरु कम्मर कसेर लागेको आरोप लगाएका हुन् ।
नेकपाका नेता समेत रहेका गृहमन्त्री थापाले भने, ‘अबको लक्ष्य भनेको समाजवाद हो, विकास र समृद्धिको उच्चतम अवस्थामा मात्र यो सम्भव छ ।’
समाजवाद ल्याउन एउटा सशक्त र शक्तिशाली नेतृत्व र संगठन चाहिएकाले पार्टी एकता गरिएको उनको भनाइ थियो । नेकपाको सचिवालय सदस्य समेत रहेका बादलले अब गाउँगाउँतहसम्म पार्टीले सभा तथा कार्यकर्तामाझ प्रशिक्षणको तयारी गरिरहेको जानकारी पनि बताए । उनले अहिले पनि अर्बौं खर्बौंको सम्पत्तिका धनी मान्छेहरु भएको तर जनता सँधै गरिब भएकाले विकासलाई तीब्र पार्नतर्फ सरकार लागेको बताए ।