मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेश घुमेरै दिन विताउदै माधव नेपाल, ११ महिनामा १० विदेश भ्रमण



काठमाडौं वैशाख, १८–
चीन भ्रमणबाट फर्केको २४ घन्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटिप्पणी हुने थालेको छ । ‘अहिले त उहाँ पारिवारिक कामका लागि अमेरिका जानुभएको छ,’ नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘उहाँको पटक–पटकको विदेश भ्रमणले एकतामा विलम्ब भएको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पार्टी एकता घोषणा भएको ११ महिनामा १० पटक विदेश भ्रमणमा निस्केका छन् । उनी नेकपाभित्र सबैभन्दा धेरै विदेश भ्रमण गर्ने शीर्ष नेतामा पर्छन् । उनी सबैभन्दा धेरै चीन तीनपटकगएका छन् । अमेरिका दुईपटक पुगे । नेपालले बेलायत, लाओस, घाना, कम्बोडिया, ब्राजिल एक–एकपटकभ्रमण गरेका छन् ।

नेपालको बढ्दो विदेश भ्रमणले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको भागबन्डा र ज्येष्ठ कम्युनिस्ट मञ्चको एकतामा ढिलाइ हुन लागेको नेकपा स्रोतले बतायो । नेपाल चीनद्वारा आयोजित बेल्ट एन्ड रोड फोरममा सहभागी भई चार दिनपछि आइतबार साँझ स्वदेश फर्किएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।
सोमबार बिहानको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कटाक्ष गर्दै ‘माधव कमरेडले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउनुभयो’ भनेको एक सचिवालय सदस्यले बताए । प्रधानमन्त्री ओलीको कटाक्ष सुनेर बाँकी नेता पनि बैठकमा हाँसेको ती नेताले बताए ।

नेपाललाई चिनियाँ निमन्त्रणा बढी
नेता नेपालले सबैभन्दा बढी निम्ता उत्तरी छिमेकी मुलुक चीनबाट पाएका छन् । उनी गत ११ महिनामा चीन मात्रै तीनपटक पुगे । अघिल्लो वर्ष २६ देखि ३१ असारसम्म उनी सिल्क रोड इन्टरनेसनल को–अपरेसन अर्गनाइजेसनको निमन्त्रणामा चीन पुगेका थिए । बेल्ट एन्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एन्ड टे«क कम्युनिकेसन फेयरमा उनी सहभागी भएका थिए ।

अघिल्लो वर्षकै ३ भदौमा पनि उनी साताव्यापी चीन भ्रमणमा निस्केका थिए । त्यसपटक उनी श्रीमती गायत्री नेपालका साथ चीन भ्रमण गएका थिए । पछिल्लोपटक गत साता उनलाई चीनले बेल्ट एन्ड रोड फोरममा सहभागी हुन निम्ता गरेको थियो । फोरममा नेपालसहित केन्द्रीय सदस्य श्रीनाथ बराल र अनेरास्ववियुका सचिव सुदेश पराजुली चीन पुगेका थिए । फोरममा नेपालको उच्च प्रतिनिधिमण्डलको नेतृत्व भने राष्ट्रपति विद्या भण्डारीले गरेकी थिइन् ।

पार्टी एकता भएलगत्तै जेठ १९ गते नेपाल ब्राजिल भ्रमणमा निस्केका थिए । माक्र्सवादबारे आयोजित कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ब्राजिल पुगेका थिए । नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कुल स्थापना गर्ने प्रतिबद्धतासहित उनी २९ जेठमा स्वदेश फर्किएका थिए ।
यस्तै, १० साउनमा नेपाल साताव्यापी भ्रमणमा कम्बोडिया गए ।

भानुभक्त ढकाल, सुजाता कोइरालालगायत नेता कम्बोडिया गएका थिए । गत वर्ष १५ देखि २० भदौसम्म नेपाल अमेरिका भ्रमणमा निस्के । ३ देखि ९ असोजसम्म स्थायी कमिटी सदस्य पम्फा भुसाल र बलराम बास्कोटासहित नेपाल घाना भ्रमणमा निस्के । सोसलिस्ट पार्टी अफ घानाको आयोजनामा भएको साम्राज्यवाद र पुँजीवादविरोधी सम्मेलनमा सहभागी हुन नेपाल घाना पुगेका थिए ।

नेपाल कात्तिक २९ गते गैरआवासीय संघ, बिर्टिस गोरखा सैनिकलगायत संघसंस्थाको निम्तामा बेलायत पुगे र बेलायतबाट उनी ५ मंसिरमा स्वदेश फर्किएका थिए । १६ माघमा लिलामणि पोखरेल, छविलाल विश्वकमा, जयन्ती राई, बिना श्रेष्ठ, विष्णु रिजालसहित लाओस पुगे । साताव्यापी भ्रमण गरी २२ माघमा उनी स्वदेश फर्केका थिए ।

विदेश भ्रमण कहिले कहाँ ?

१६ वैशाख ०७५ अमेरिका
११ वैशाख ०७६ चीन
१६ माघ ०७५ लाओस
२९ कात्तिक ०७५ बेलायत
३ असोज ०७५ घाना
१५ भदौ ०७५ अमेरिका
३ भदौ ०७५ चीन
१० साउन ०७५ कम्बोडिया
२६ असार ०७५ चीन
१९ जेठ ०७५ ब्राजिल

विदेश भ्रमणले कतिपय वेला पार्टीमा असर
नारायणकाजी श्रेष्ठ, प्रवक्ता, नेकपा
अहिले अमेरिका भाइकी छोरीको विवाहमा जानुभएको हो । त्यो उहाँको व्यक्तिगत पारिवारिक काम हो । प्रायः विदेश जाँदा पार्टीमा सल्लाह भएको थाहा छैन । सायद अध्यक्ष कमरेडसँग सल्लाह गर्नुहुन्थ्यो । उहाँ विदेश हुँदा कतिपय वेलामा पार्टीमा असर परेको छ । विदेश भ्रमणले पनि पार्टी एकतामा विलम्ब भएको छ ।

उहाँको भ्रमणले एकता लम्बिएको होइन
विष्णु रिजाल,नेकपा केन्द्रीय सदस्य
पार्टीको सल्लाहमा पारिवारिक कार्यक्रममा जानुभएको छ । चार दिनपछि स्वदेश फर्किहाल्नुहुन्छ । उहाँका कारणले एकता लम्बिएको विल्कुल होइन । अध्यक्षद्वयले होमवर्क गरिरहनुभएको छ । माधव कमरेड हिजो पनि नेपालमै हुनुहुन्थ्यो, भोलि पनि नेपालमै हुनुहुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : ३६ बजे