मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टी कार्यालय सुनसान, शीर्ष नेताका निवासमा थामिनसक्नु भीड



काठमाडौं वैशाख, २१–
नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो। निवासमा भीडभाड थियो। प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ। दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिए।

पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल, नेताहरू प्रभु र विश्वनाथसहित प्रदेश सचिव सुमनराज प्याकुरेलको उपस्थितिमा दाहाल निवासमा कार्यक्रम भयो। फूलमाला र खादा त्यहाँ उत्तिकै प्रयोगमा आयो। दाहालसँग फोटो खिचाउन चाहनेको तँछाडमछाड देखियो।

त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षणपत्र पनि आफ्नै निवासमा बुझेका थिए। नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ। पेरिसडाँडामा पनि सम्पर्क कार्यालय छ। तर उनी धुम्बाराहीस्थित पार्टी कार्यालयमै नपुगेको दुई महिना भइसक्यो। दाहालको नेता–कार्यकर्ता भेटघाटदेखि सबै कार्यक्रम निजी निवासमै हुन्छन्। पार्टी कार्यालयमा बनाउनुपर्ने कार्यक्रमसमेत निजी निवासमा गर्ने गरी बनाइँदै छन्।

यस्तो दृश्य दाहाल निवासमा मात्र होइन, प्रधानमन्त्री तथा नेकपाकै अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटार र कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पनि देखिन्छ। १६ वैशाखमा प्रधानमन्त्री ओलीले पार्टी सचिवालय बैठक आफ्नै सरकारी निवास बालुवाटारमा बोलाए। गतवर्षको जेठ ३ को पार्टी एकतायता एक पटक स्थायी समितिको बैठक धुम्बाराही कार्यालयमा बसे पनि जेजति अन्य बैठक अहिलेसम्म बसेका छन्, प्रधानमन्त्री निवास बालुवाटारमै बसिरहेको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवाको अवस्था पनि उस्तै छ। उनी पार्टी पदाधिकारी बैठक आफ्नै निवासमा गराइरहेका छन्। १९ वैशाखमा मात्र पार्टीभित्र देखिएको असमझदारी हटाउने, भ्रातृसंस्थादेखि कार्यसम्पादन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्न देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक बोलाए।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  २ : ०१ बजे