प्रधानमन्त्रीकै कारण राष्ट्रपति विवादमाः कांग्रेस नेता रिजाल



काठमाडौं वैशाख, २२– नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले राष्ट्रपतिलाई विवादमा ल्याउने काम स्वयम प्रधानमन्त्रीले गरेको आरोप लगाएका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिँडाउने प्रयास गरिएको उनको आरोप थियो । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद रिजालले भाषागत र शैलीको कुरा मात्रै नभई प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको दाबी गरे । उनले विकास, पूर्वाधार तथा रोजगारीको सन्दर्भमा सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको प्रष्ट पारे ।
उनले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिए ।
गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा, लोकतन्त्रलाई बलियो बनाउने नभइ आधारभूत संरचनालाई कमजोर बनाउने र नीतिगत प्रष्टता नराखी लामो फेहरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको उनको टिप्पणी थियो ।

उनले भने, ‘गणतन्त्रलाई यो सरकारले जोगाउँछ कि जोगाउँदैन भनेर साच्चै आंशका पैदा भएको छ । यो सरकार नेपालको सरकार हो । नेपालको संविधानले नेपालको कार्यकारीणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ । कसैको मेरो सरकारको नाममा होइन । जनतालाई आश्वस्त गर्नुहोस् । जनता विश्वास गर्दैन ।’

उनले सरकारले संघीयताको पक्षमा एउटा पनि ठोस प्रतिवद्धता जाहेर नगरेको टिप्पणी गरे ।
उनले लोकतन्त्रप्रति नै सरकार इमान्दार नभएको दाबी गरे । उनले भने, ‘संघीयतालाई कमजोर बनाउदा देश कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । यो गल्ति नगरोस् ।’

प्रकाशित मिति : बैशाख २२, २०७६ आइतबार  ७ : ३५ बजे