काठमाडौं वैशाख, २४–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेतृत्वले त्याग, बलिदानको संकल्प गरेर नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । मंगलबार संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैँ अध्यक्ष दाहालले नीति तथा कार्यक्रमको कार्यान्वयनतर्फ जानुपर्नेमा जोड दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘नेतृत्वले त्याग, बलिदानको संकल्प नगर्ने हो भने खतराको घण्टी बज्न सक्छ। आज नभए, भोलि। भोलि नभए पर्सी ।’ उनले थपे, ‘संघीयता कार्यान्वयन, कर्मचारी समायोजनमा जटिलता छ। कार्यशैलीगत समस्या छ।’
अध्यक्ष दाहालले जनताले यो सरकारको कामलाई निकै धैर्यतापूर्वक हेरिराखेको र सरकारले काम गर्नेमा जनताले विश्वास लिइराखेको प्रष्ट पारे ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवातर्फ इंगित गर्दै दाहालले नीति तथा कार्यक्रमलाई आश्वासनको पुलिंदा भनेकोमा प्रतिपक्षको धर्म निर्वाह गरेको बताए।
‘आश्वासनको पुलिंदा भन्नु प्रतिपक्षको धर्मभित्रै छ। सकारात्मक चुनौतीको रूपमा लिएर सरकारले जिम्मेवार भएर कार्यान्वयनमा जानुपर्छ,’ उनले भने।
छिमेकी चीन र भारतबाट काठमाडौंमा रेल आउने उनले बताए। कृषिलाई प्राथमिकता दिएर बेरोजगारी समस्या हल गर्नुपर्ने तथा सुकुम्वासी समस्या समाधानलाई सहयोग पुर्याउने गरी काम गर्नुपर्ने उनले बताए।
अध्यक्ष दाहालले नीति तथा कार्यक्रमको आलोचना गरेकोमा प्रतिपक्षी दलहरूलाई धन्यवाद समेत दिएका थिए ।