काठमाडौं वैशाख, २७–
सभामुख कृष्ण बहादुर महराले प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको संसद बैठकको सुरुमै सभामुख महराले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बोलेका अमर्यादित शव्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । सभामुख महराले दुई दिनअघिको संसद बैठकमा प्रयोग भएका अमर्यादिन शब्द हटाउन संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।
सभामुखको निर्देशन लगत्तै नेकपाका संसद खगराज अधिकारीले उक्त दिन प्रधानमन्त्रीले मात्रै नभएर अन्य माननीयहरले समेत अमर्यादिन शव्द प्रयोग गरेकाले ति शब्दहरु समेत हटाउन माग गरेका थिए । त्यसपछि सभामुख महराले अमर्यादित सबै शब्द हटाउन निर्देशन दिएको जवाफ दिएका थिए । सभामुख महराले उक्त निर्देशन दिए लगत्तै कांग्रेस सांसदहरुले संसद बैठक चल्न दिएका छन् ।
त्यसलगत्तै सभामुखले राष्ट्रपतिकोकार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । त्यसपछि अर्थमन्त्री डा युवराज खतिवडाले आ.व. २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव वाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । संसदीय व्यवस्थामा त्यस्ता भाषा प्रयोग भएमा संसदको रेकर्डबाट हटाउने प्रचलन छ । ‘सभामुखले त्यो भाषा हटाउन निर्देशन दिएकाले संसद चल्न दिएका हौ’ काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।
गत बैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नलाई आक्रोश, कुण्ठा र निम्छराको संज्ञा दिएपछि प्रतिनिधिसभाको सोही दिनको बैठक केहीबेर तनाबग्रस्त बनेको थियो ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि काँग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरेका थिए । उनीहरुले सभामुखको ध्यानाकर्षण गराउदै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरेपनि सभामुखले ध्यानाकर्षण भएको बताएका थिए । कांग्रेसका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराउदै गर्दा प्रधामन्त्रीले प्रतिरोधको शैलीमा प्रश्नको सीमा र मर्यादा हुन्छ भने पछि स्थिति थप तनावपुर्ण बनेको थियो । त्यसपछि संसदमा सत्तापक्ष सांसद, प्रतिपक्षी सांसद र रोष्टबाट प्रधानमन्त्रीको भनाभन नै चलेको थियो ।