मेलम्चीको पानी रोक्ने नेपाली नै हुन्, अब हस्तक्षप गरेरै भए नि पानी ल्याइन्छः प्रचण्ड



काठमाडौं वैशाख, २७–
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेको बताएका छन् । अध्यक्ष दाहालले अब नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याईछाड्ने बताएका हुन् । शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा बोल्दै प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् ।
उनले अब कडा कदम चालेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् । प्रचण्डले भने, ‘म आफै पनि र प्रधानमन्त्री सहित नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौं ।’
अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनका जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उनले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताए । ‘विभिन्न गतिविधि गर्ने केही मानिसको समूहले, अझै आउन दिन्नौं भनेका छन्,’ प्रचण्डले भने , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, सरकारले स्ट्रोङ कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’

प्रकाशित मिति : बैशाख २७, २०७६ शुक्रबार  १० : १३ बजे