काठमाडौं वैशाख, ३०–
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएका छन् । बिहिबार बिहान महासंघ र प्रेस काउन्सिलका पदाधिकारीले सभामुख महरालाई उनकै निवासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । पूर्वसूचना तथा सञ्चार मन्त्री समेत रहेका महराले विधेयकमा सञ्चार जगतको सरोकारबारे संसद्, संसदीय समितिमा पर्याप्त छलफलको वातावरण बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विधेयकमा दस लाख जरिवाना र जति मन लाग्यो त्यति क्षतिपूर्ति तिराउन सक्ने, काउन्सिललाई प्रेसलाई तह लगाउने सरकारको एउटा अंग बनाउन लागेकोलगायतका प्रावधानप्रति आफूहरूको कडा आपत्ती रहेको धारणा राखेका थिए ।
उनीहरूले संविधानको मर्म र भावनाविपरीत संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तुरुन्त फिर्ता लिएर सरोकारवालासँगको छलफल र सहमतिमा अर्को मस्यौदा बनाउनु पर्नेमा जोड दिए ।
महासचिव रमेश विष्टका अनुसार साताव्यापी आन्दोलन घोषणा गरेको महासंघले मध्याह्न ३ः३० बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि ज्ञापनपत्र बुझाउन लागेको छ ।
महासंघले वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यहरूसँग छलफल गर्दैछ ।
प्रेस विरोधी विधेयकको विरोधमा जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने भएको छ । त्यही दिन महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालमया सरोकार पक्षबीच वृहत छलफल गरिने भएको छ ।
जेठ ३ गते काठमाडौंमा संसद् भवन बाहिर र जिल्लाहरूमा सदरमुकाममा सञ्चार साधनसहित वृहत प्रदर्शन गरिने महासंघले जनाएको छ ।
२७ शाखमा घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार महासंघले नेपाल बार एसोसियसन, कानूनविद्, सञ्चारविद्, महासंघका पूर्वपदाधिकारी तथा सम्पादकहरूसँग छलफल गरेको थियो ।