प्रतिबन्धित भारु १६ लाखसहित ५ नेपाली पक्राउ



काठमाडौं वैशाख, ३०–
प्रहरीले भारतमा प्रतिबन्धित भारु १६ लाख बराबरको नोटसहित ५ नेपालीलाई पक्राउ गरेको छ । भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका नोटसहित धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारतमा प्रतिबन्ध भइसकेका नोट नेपालबाट ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले कहाँबाट र के प्रायोजनका लागि ती नोट ल्याए भन्ने खुल्न सकेको छैन । यद्यपि, नेपालमा रहेका प्रतिबन्धित नोट सटही नभइसकेका वेला कुनै पनि वेला सहटी खुला गरिने प्रलोभनमा कारोबार भएको हुनसक्ने आशंका गरिएको छ । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जानकारी गरायो ।

प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार  ७ : ४१ बजे