मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नेता गगन थापाले अर्थमन्त्रीलाई भने – ‘जनतासामू माफी माग्नुस’



काठमाडौं वैशाख, ३०–
नेपाली कांग्रेसका सांसद गगन थापा अर्थमन्त्री युवराज खतिवडामाथि खनिएका छन् । सोमबार संसदको बैठकमा बोल्दै गत वर्षको बजेटलाई लिएर सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे भेटाइदिन चुनौती दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको २०७६÷७७ सालको बजेटको सिद्धान्त र कार्यक्रममाथि टिप्पणी गर्दै थापाले सरकारले अनुकूलतामा पनि काम गर्न नसकेको आरोप लगाए ।

‘नेपालमा कम्युनिस्ट पार्टीको पाँच वर्षसम्म हलचल नहुने पूर्ण बहुमतको सरकार छ। यस्तो अनुकूलकता भएको सरकार यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ, भ्यागुता जस्तो उफ्रने आर्थिक वृद्धिको अपेक्षा हुनु स्वभाविक हो’, थापाले भने, ‘गएको एक वर्षमा के भयो। मन्त्रीको दाबी छ गज्जबै गज्जब भयो। संविधान कार्यान्वयन उत्कृष्ट रह्यो। रोजगारी वृद्धि भयो। बजेटमा अनुशासन कायम भयो। सुशासन र विकास भयो। राम्रैराम्रो भयो। हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो। तर म चुनौतीका साथ भन्न चाहान्छु ( एकपटक नेपाल घुमौं। प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदूर, उद्यमी, व्यवसायी नयाँ पुरानो कसैलाई पनि भेटौं र सोधौं। यो मेरा लागि सुखद वर्ष रह्यो भन्ने एक जना मान्छे तपाईंले मलाई भेटाइदिनुहोस्।’

सांसद थापाले लक्षित राजस्व संकलन नभएको, आन्तरिक राजस्वले चालू खर्च धान्ने अवस्था नरहेको, ९ महिनामा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको, भुक्तानी चाप असन्तुलन बढेको बताए।

‘तरलता अभाव दुई तीन महिनामा देखिन थालेको छ। देशभित्रको निजी क्षेत्रको लागत मात्र होइन निराशामा मात्र बढेको छ’ थापाले भने, ‘८ प्रतिशतको वृद्धिदर लक्ष्य थियो। ६ दशमलव ८ प्रतिशतमा छौं। कृषिमा काष्ठ सामान प्रयोग, मनसुन र सेवा क्षेत्रमा मार्जिनल वृद्धि छ। तर दिगो छैन। औद्योगिक वृद्धि भएको छैन। यो एक वर्षमा के जादू गर्नुभयो ।’ नेता थापाले अर्थमन्त्री खतिवडालाई आत्मालोचना गर्न समेत सुझाव दिए ।

‘मैले गर्न खोजे सकिनँ र सुधार गर्छु भन्ने ठाउँबाट सुधार गर्नु भएको भए ठीक ढंगले जाने थियो होला’, थापाले भने, ‘दुई अंकको आर्थिक वृद्धि होइन संरचनात्मक परिवर्तन गर्ने, विप्रेषणमा आधारित होइन लागतमा आधारित वृद्धि गर्नुपर्छ।’

उनले नेपालमा दक्षिण एसियामा सबभन्दा कम वैदेशिक लगानी आएको उल्लेख गरे।

उनले राजस्व परिचालनमा नविनता ल्याउनुपर्ने, ग्लोबल भ्यालु चेन र रिजनल भ्यालु चेनमा जोडिने तथा सामान्य र मध्यम स्तरका उद्योगबारे सरकार स्पष्ट हुनुपर्ने बताए।

नेता थापाले समृद्धिको परिकल्पना हावादारी भएकै कारण नीति तथा कार्यक्रम बरालिएको र त्यसमै आधारित भएर बजेटको सिद्धान्त र कार्यक्रम आएको बताए।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ५८ बजे