भूमिगत गिरोहले नेकपाका शीर्ष नेता फुटाउन खोज्योः प्रचण्ड



काठमाडौं जेठ, ३–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल नेकपा भित्र शीर्ष नेताहरूमा विभाजन ल्याउन एउटा गिरोह सक्रिय भएर लागेको बताएका छन् । शुक्रबार २३औँ मदन–आश्रित स्मृति दिवसका अबसरमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भूमिगत गिरोहले नेकपामा फुट ल्याउन भूमिका खेलेको समेत बताएका हुन् । यद्यपि, अध्यक्ष प्रचण्डले उक्त भूमिगत गिरोहको नाम भने खुलाएनन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको नाम नलिएर दाहालले भने, ‘हामीलाई फुटाउन भूमिगत गिरोह लागेको छ । फुटाउन खोज्ने तत्वहरू सक्रिय छन् ।’

उनले कम्युनिस्टहरूले केही गर्न सक्दैन भन्नेहरू धेरै रहेको भन्दै आफूहरू लोकतान्त्रिक पार्टी भएको बताए ।

पार्टी समायोजनको कुरा ढिलै भएपनि गरेर आएको बताएका दाहालले भने, ‘हामीले पार्टी समायोजन गर्न ढिलाइ भएको हो । तर, हामीले सबै कुरा मिलाएका छौँ ।’

दाहालले मदन भण्डारीको जनताको बहुदलीय जनवादको उच्चारण नगरे पनि साविक एमालेका केही पुराना नेताहरूले मदन भण्डारीको सिद्धान्तलाई रटान लगाएको भनेर आलोचना गरे । उनले एउटै सिद्धान्तलाई रटान गर्ने विषय वैज्ञानिक नहुने बताए ।

दाहालले आफूहरूले समाजवादको नयाँ मोडल दिने बताए । ‘पुरानो सिद्धान्तलाई मात्रै रटान गर्ने कुरा वैज्ञानिक होइन’, दाहालले भने, ‘केही पुराना नेताहरूले मदन भण्डारीको सिद्धान्त रटान गर्ने गरेका छन् । पार्टी एकीकरण हुँदा नयाँ सहमति भएको छ । त्यसलाई आत्मसात गर्नुपर्छ ।’ रोचक कुरो त अध्यक्ष प्रचण्डले आफ्नो भाषणभरी न त सरकारको समर्थन गरे न बचाउनै ।

प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार  ५ : ४९ बजे