काठमाडौं जेठ, ४–
पार्टी एकताको काम लगभग अन्तिम चरणमा पुग्नै लाग्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले अबको सैद्धान्तिक, वैचारिक कार्यदिशाबारे एउटै सार्वजनिक मञ्चबाट बहस सुरु गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओली र प्रचण्डले समयानुकूल सैद्धान्तिक वैचारिक कार्यदिशाको प्रयोग र विकसित गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘मदन भण्डारीले अगाडि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन । त्यस विचारधाराबाटै पार्टी अघि बढ्ने हो, किनभने त्यसपछि कता जाने हो रु’ ओलीले प्रश्न गर्दै भने, ‘अहिलेको धारबाटै हामी अघि बढ्छौँ, हाम्रो विचारधारात्मक एकता र स्पष्टताले सबै कुरालाई खँदिलो बनाउँदै लानेछ ।’
प्रचण्डले भने साबिक एमालेको जबज र माओवादीले अघि सारेको एक्काइसौँ शताब्दीको जनवाद तथा जनयुद्धको अनुभवबाट शिक्षा लिँदै जनताको जनवादको सैद्धान्तिक, वैचारिक कार्यदिशाका जगमा समाजवादको मोडल विकास गर्ने गरी महाधिवेशनमा बहस गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘हामीले अन्धो भएर एकता गरेका होइनौँ, जनताको जनवादको सैद्धान्तिक कार्यदिशालाई तत्कालका लागि समाजवादको रणनीतिक प्रयोग गरेका हौँ,’ प्रचण्डले भने, ‘यो धरातलमा टेकेर महाधिवेशनसम्म पुग्दा सही विचार स्थापित गर्ने संकल्प गर्ने गरी हस्ताक्षर गरेका छौँ, समाजवादको नयाँ मोडल दिने आँट गरेका छौँ ।’








