काठमाडौं जेठ, ६–
प्रहरीले खुङखार डाँकाको सूचीमा राखेको विष्णु तामाङलाई पक्राउ गरेको छ । सोमबार बिहान काठमाडौँको टोखा नगरपालिकामा प्रहरीले गोली हानेर काले भन्ने ३३ वर्षीय तामाङलाई नियन्त्रणमा लिएको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङले पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड घटाएको बताए । उक्त आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएको र उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको एसएसपी थापाको भनाइ छ ।
सिन्धुपाल्चोक मेलम्ची घर भएका घुँडामूनी गोली लागेको तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
तामाङ पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।








